नक्कली परिक्षार्थी प्रयोग गर्ने मेयरलाई पक्राउ पूर्जी

   २४ चैत्र २०७९, शुक्रबार १३:४८  

२४ चैत, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरले नक्कली परिक्षार्थी प्रयोग गरेको आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ ।

विद्यालय शिक्षा परिक्षा (एसइइ) मा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया मावि परिक्षाकेन्द्रमा आफ्नै ज्वाई कमल साहलाई नक्कली परिक्षार्थीका रुपमा प्रयोग गरेका थिए । मेयर प्रेमलाल साह कानु, उनका छोरा कुन्दन साह र केन्द्राध्यक्ष तेजनारायण साहको नाममा पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।

एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ प्रेमलाल साह कानु (मेयर) को नाममा रहे पनि उनको स्थानमा परिक्षाकेन्द्रमा नक्कली परिक्षार्थीले परिक्षा दिइरहेको अवश्थामा सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वमा रहेकोले परिक्षा अनुगमन टोलिले नक्कली परिक्षार्थी कमल साहलाई आइतवार पक्राउ गरेको थियो ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन । पक्राउ परेका साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफुलाई परिक्षामा सहभागी हुन वर्दिवासबाट बोलाएको स्वीकार गरेका छन ।

“अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक वीरबहादुर बुढामगरले भने “अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।” परिक्षामा सहभागी हुन फर्म भरेका व्यक्तिलाई परिक्षार्थीकै रुपमा हेरिएको प्रहरीको तर्क छ । मेयरले भरेको परिक्षा फर्म, रजिष्ट्रेशन तथा परिक्षाका अन्य कागजातहरुको प्रहरीले छानबिन गरिरहेको छ ।

शिक्षा ऐन २०२८ को दफा १७ “क” अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ । नक्कली परिक्षार्थी पक्राउ परेपछि सो परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह पनि सम्पर्क विहिन बनेका छन । अनुसन्धानका लागी प्रहरीले खोजेको सूचना पाएपछि उनी फरार भएका हुन ।

सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानु (मेयर) नै भएको प्रवेश पत्र र अन्य कागजातहरुले समेत पुष्टी गरेको छ । प्रवेश पत्रमा लेखिएको जन्ममिति, बुवाको नाम बनवारी साह तथा आमाको नाम दया देवी र ठेगाना वडा नं. ९ ले पनि मेयर आफैले एसइइको परिक्षामा नक्कली परिक्षार्थी खटाएको प्रष्ट छ ।