मेयर पास गराउन परिक्षाकेन्द्रमा सेटिङ्ग
२० चैत, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरलाई विद्यालय शिक्षा परिक्षा (एसइइ) उतिर्ण गराउन परिक्षाकेन्द्रले पहिले देखिनै योजनाबद्ध तयारी गरेको खुलेको छ ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई एसइइ पास गराउन पथरा बुधराममा रहेको माविबाट परिक्षाको फर्म भरिएको थियो । मेयरलाई उतिर्ण गराउन परिक्षाका केन्द्राध्यक्ष देखी निरिक्षक सम्मले जिम्मेवारी बोकेका थिए । मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया मावि परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहलाई नक्कली परिक्षार्थीका बारेमा पहिल्यै अवगत रहेको थियो ।
एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थीको सट्टामा अर्कै व्यक्तिले परिक्षा दिइरहेको गोप्य सूचना जिल्ला प्रशासन कार्यालयमा पुगेपछि तत्कालै अनुगमन टोलीले लक्ष्मीनिया माविमा रहेको सो सिम्बोल नम्बरलाई चेकजाच गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वमा रहेकोले परिक्षा अनुगमन टोलिले नक्कली परिक्षार्थी कमल साहलाई पक्राउ गरेको थियो ।
अनुगमन टोलीले नक्कली परिक्षार्थी पक्राउ गर्दा उनले मेयरको सट्टा परिक्षा दिइरहेको जानकारी भने टोलीलाई थिएन । मेयरका ज्वाई नक्कली परिक्षार्थीको रुपमा भेटिए पछि अनुगमन टोलीले निजलाई प्रहरीको जिम्मा लगाउदै जिल्ला प्रशासनमा उपस्थीत गराउन निर्देशन दिएको थियो ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास स्टेशनमा कार्यरत स्थायी कर्मचारी हुन । “परिक्षाकेन्द्रमा केन्द्राध्यक्ष र निरिक्षकहरुको मिलेमतो नभएर यस्ता घटना हुनै सक्दैन ।” जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने “रौतहटको परिक्षा मर्यादित बनाउन खटिएका कतिपय केन्द्राध्यक्षहरुकै मिलेमतोमा परिक्षाको स्तर बिगे्रको छ ।” केन्द्राध्यक्षहरुले विद्यार्थीको उतरपुस्तीकामा हस्तारक्षर गर्न जादा प्रवेशपत्र, सिम्बोल नम्बर सबै हेर्नुपर्नेमा उनीहरुले त्यस्तो नगरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
रौतहटको लक्ष्मीनिया माविमा देखिएको बेथितिका बारेमा आफुहरु गम्भीर भएको र सो केन्द्रका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
कानूनी कारवाही के छ ?
शिक्षा ऐन २०२८ को दफा १७ क अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।
प्रवेश पत्रमा टासिएको फोटो, मेयरको नाम, उनको बुवा र आमाको नाम सबैबाट नक्कली परिक्षार्थी राख्ने व्यक्ति मेयर प्रेमलाल साहनै भएको स्पष्ट देखिन्छ तर प्रशासन यसबारेमा तत्कालै बोल्न चाहदैन ।
पक्राउ परेका इन्जीनियर साहलाई पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरि रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।






