रौतहटमा आगलागिका कारण एक करोड भन्दा बढिको क्षति
१६ चैत, रौतहट । रौतहट जिल्लाको छुट्टाछुट्टै स्थानमा हिजो राति आगलागि हुँदा करिव एक करोड भन्दा बढिको क्षति भएको छ ।
गएराति रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ३ सखुअवामा रहेको रिद्धि सिद्धि प्लाईबोड कारखानामा विद्युत सर्ट भएर बुधवार राति १.५० बजेको समयमा आगलागि हुँदा कम्पनी भित्र रहेका मेशिनरी प्लाइबोडहरु कजलेर नष्ट भएको हो । कारखानामा भएका आगलागिमा मानविय क्षति नभएपनि ठूलो परिमाणमा भौतिक सम्पत्ती जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागि भएको खवर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गौर नपाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो । कारखानामा लागेको सो आगो निभाउन सुरक्षाकर्मी र बारुणयन्त्रलाई ४ घण्टा भन्दा बढी समय लागेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक दिनेश कुवरले बताए ।
रिद्धि सिद्धि प्लाईबोडमा रहेका बीस लाखको दुई वटा जनरेटर, ६३ लाखका फेस भिनियर र कोर भेनियर प्लाई, ५० हजारको दाउरा, दुई लाख ५० हजारको घर गरी ८६ लाखको सम्पत्ती जलेर खरानी भएको प्रहरी निरिक्षक कुँवरले बताए ।

यस्तै गौर नगरपालिका वडा नम्वर ४ सोवरनामाई स्थित मुनिफ मियाले संचालन गरेको मुनिफ पोल्ट्रि फर्ममा राति ९ बजेको समयमा आगलागि हुँदा पोल्ट्री फर्म पूर्णरुपमा ध्वस्त भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र बारुण यन्त्रको मद्दतबाट करिव १ घण्टामा आगोलाई नियन्त्रणमा लिइएको थियो ।
पोल्ट्री फर्म मा भएको आगलागीमा कुखुराको चल्ला, कुखुराको दाना, कुखुरालाई खुवाउने औषधी, लगायतको झण्डै २३ लाख ८६ं८ हजार मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको प्रहरी निरीक्षक कुँवरले बताए । पोल्ट्री फर्ममा आगो निभाउन गएको बारुण यन्त्रमा पानी सकेपछि पुन रिफिल गरेर आगोलाई निभाउने प्रयास गर्दा केही अराजक व्यक्तिहरुले बारुण यन्त्रलाई ढुङ्गामुढा र त्यसका कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । आगो निभाउन पुगेका प्रहरीले चढेको बा २ ब १८०८ नम्वरको मोटरसाइकल समेतमा क्षति पुर्याए पछि घटनामा संलग्न रहेका १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी हिजो राति नै गौर नपा ३ मचकुटियामा चन्दन साहको खरले छाएको फुसको घरमा खाना पकाउन बालेको आगो सल्केर आगलागि हुँदा घरमा रहेका भाडाकुडा, खाद्यान्न, लत्ताकपडा गरी २ लाख ५० हजार मूल्य बराबारको सम्पत्ती नष्ट भएको थियो ।
रौतहटको तिन स्थानमा भएको आगलागिबाट १ करोड १२ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






