मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु, छोरी घाइते

   १४ चैत्र २०७९, मंगलवार १७:०४  

१४ चैत, ललितपुर । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा आज बिहान १०ः४५ बजेतिर भएको मोटरसाइल दुर्घटनामा परेर दम्पतीको मृत्यु भएको छ, भने छोरी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलको पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको छ ।
यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएकी मृतकका ५ वर्षीया छोरी सृजला फुँयालको पाटन अस्पतालमा उपचार भइरहेको छ ।