ट्याक्टर दुर्घटना हुँदा कैलालीमा २ जनाको मृत्यु, २८ उपचाररत

   ७ चैत्र २०७९, मंगलवार १३:२७  

७ चैत, कैलाली । ट्याक्टर दुर्घटना हुँदा कैलालीमा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ हजारीबारा भन्ने स्थानमा सोमबार गएराति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा दुर्घटना भएको हो । से १ त ८८७० नम्बरको ट्याक्टर पल्टिदाँ ट्याक्टरमा सवार रहेका भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको छ ।

यस्तै, दुर्घटनामा परेर घाइते भएका २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, दुर्घटना पश्चात् फरार भएको ट्याक्टर चालक सुरज चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।