सत्ता गठबन्धनका नेताको बैठक आज बस्दै

   २ चैत्र २०७९, बिहीबार ११:३५  

२ चैत्र, काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक आज पनि बस्दै छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

आज पनि बालुवाटारमै बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । बुधबारको बैठकमा पनि यही विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताए ।

बुधबारको बैठकपछि उनले सञ्चारकर्मीसँग भनेका थिए, “उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि (आज) यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ ।”

नेता बस्नेतले सरकार विस्तारलगायत विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए ।