शीतलनिवासबाट बिदा भइन् भण्डारी, पौडेलले लिए तेस्रो राष्ट्रपतिका रूपमा शपथ

   २९ फाल्गुन २०७९, सोमबार १४:१९  

२९ फागुन, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् ।

सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारी शीतलनिवासबाट बिदा भएकी हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट उपहार प्रदान गरे । राष्ट्रपति पौडेलले गाडीनजिकै पुगेर बिदाइ गरे ।

निजी निवासमा मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि भण्डारी काठमाडौंको महाराजगन्जस्थित छोरीको घरमा बस्नेछिन् ।

यसैगरी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । काठमाडौंको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ समारोह आयोजना गरिएको थियो । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् ।

यही फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।