सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु

   २१ फाल्गुन २०७९, आईतवार १७:०७  

२१ फागुन, बारा । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटना हुँदा बारामा एक जना र धनुषामा दुई जनाको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर को १ ख ५७०० को बस ब्याक गर्ने क्रममा बाराको निजगढ नगरपालिका ८ का ५० वर्षीय मजिद मिया गमभीर घाइते भएका थिए ।

वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएको उनलाई उपचारको लागि सीटी अस्पतालमा ल्याएपनि उपचार सम्भव नभएकोले थप उपचारका लागि मियालाई गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा पठाइएको थियो ।

गण्डक अस्पतालमा ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटना पश्चात् ठक्कर दिने बस चालक सिरहा सुखीपुर नगरपालिका ८ निवासी ४२ वर्षीय ललन कुमार दासलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी, धनुषामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ लक्ष्मीनियाँ ४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भरि घाइते भएका दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पतालमा ल्याएपनि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, मृतक दुवै जना एकटै मोटरसाइकलमा सवार भएका थिए ।