सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १२ जना घाइते

   १६ फाल्गुन २०७९, मंगलवार १२:५०  

१६ फागुन, सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् ।

जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहानै करिब ३ बजेतिर सवारी दुर्घटना हुँदा सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाएका दुवै जना कारमा सवार भएका थिए । यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका १२ जनालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा स्थानीय ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।