बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु

   १० फाल्गुन २०७९, बुधबार १२:२६  

१० फागुन, मोरङ । बसको ठक्करबाट मोरङको बेलबारीमा एक साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको बेलबारी नगरपालिका १ मा यात्रुबाहक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ, भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ६:३० बजेतिर भएको सवारी दुर्घटनामा परेर साइकलयात्री बेलबारी २ निवासी १९ वर्षीय लेखनाथ चौहानको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले एकैपटक दुईवटा साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको चौहानलाई उपचारको लागि तत्कालै घटनास्थलबाट उद्धार गरी नोबेल अस्पताल विराटनगरमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बसको ठक्करबाट बेलबारी नगरपालिका २ कै १८ वर्षीय राम बस्नेत घाइते भएका हुन् । घाइते बस्नेतको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात् बसका चालक स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर २ घर भएको ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।