चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ

   ८ फाल्गुन २०७९, सोमबार ११:२०  

८ फागुन, कैलाली । चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको विनायक नगरपालिका ६ तोली बस्ने ३६ वर्षीय तुलबहादुर विक र जुम्ला तातोपानी गाउँपालिका ४ रावत वडा निवासी ५० वर्षीय तुलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई चितुवाको छालासहित नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार से.५प ८०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ७ फिट १० इन्च लम्बाई र चार फिट ७ इन्च चौडाइ भएको १ थान चितुवाको छाला र अन्य विभिन्न वन्यजन्तुका हड्डी दुई किलो ९५० ग्राम बरामद भएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।