सवारी दुर्घटना हुँदा मकवानपुरमा एक महिलाको मृत्यु

   ५ फाल्गुन २०७९, शुक्रबार ११:५०  

५ फागुन, मकवानपुर । ट्रकको ठक्करबाट मकवानपुरमा एक स्कुटर चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परेर स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी २ घर भएकी ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी ६ रामडाँडामा सोही विपरीत दिशाबाट जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर ज्यान गुमाएकी ती महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।