हवल्दारमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ

   १९ माघ २०७९, बिहीबार १७:२४  

१९ माघ, रौतहट । फरार प्रतिवादीले गरेको चक्कु प्रहारबाट रौतहटमा हवल्दार घाइते भएका छन् ।

चोरी तथा ज्यान मार्ने मुद्दामा फरार रहेको प्रतिवादीलाई नियन्त्रणमा लिन जादाँ प्रहरीमाथि नै चक्कु प्रहार भएको छ । फरार भएको अभियुक्त रौतहटको गौर नगरपालिका वडा नम्बर २ लालबकैया खोलापारी केरा घारीमा रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई हिरासतमा लिन खोज्दाँ प्रहरीमाथि नै चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका हुन् । हवल्दारमाथि चक्कु प्रहार गरी भाग्न खोज्दाँ उनीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले एक राउण्ड हवाइफायर गरेको थियो ।

गौर नगरपालिका वडा नम्बर ५ कोइरीटोलका १९ वर्षीय राहुल यादवलाई बुधबार हिरासतमा लिएपनि वडा नम्बर ४ निवासी १९ वर्षीय रवि यादव फरार भएका थिए । हिजो भाग्न सफर भएको रवि यादवलाई आज बिहान वडा नम्बर ४ मै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै, प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । उनीहरुको साथबाट चक्कु र कैची समेत बरामद भएको छ ।