सवारी दुर्घटना हुँदा सर्लाहीमा २ जनाको मृत्यु

   १९ माघ २०७९, बिहीबार ११:०८  

१९ माघ, सर्लाही । सवारी दुर्घटनामा परेर सर्लाहीको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको लालबन्दी र बरहथवामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका १७ रानिगंज डाडाँटोल का ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ ।

बुधबार दिउँसो लालबन्दीको डाँडाटोल स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ३१२९ नम्बर बोलेरो पिकअपले सोही विपरीत दिशाबाट गइरहेको प्र २-०२-००२ प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएको मोटरसाइकल चालक राजकुमारलाई उपचारको लागि तत्कालै उद्धार गरि मोडल हस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् ठक्कर दिने पिकअप चालक २२ वर्षीय मुकेश साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, जिल्लाको बरहथवा नगरपालिका १६ सितापुर कटानीमा ट्रयाक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । शिव इँटा उद्योगको प्र २-०३-००१ त ६५५५ नम्बरको ट्रयाक्टरले ६ वर्षीय बालक हेमन्तलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार इँटा भट्टामा काम गर्ने बुवासंगै बालक बस्दैँ आएका थिए ।

दुर्घटनापछि फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।