प्रतिबन्धित लागुऔषध सहित धनुषाबाट ४ जना पक्राउ

   १३ माघ २०७९, शुक्रबार १०:४६  

१३ माघ, धनुषा । प्रतिबन्धित लागूऔषधसहित धनुषाको जनकपुरधामबाट ४ जना पक्राउ परेका छन् ।

सवारी चेकजाँच गर्ने क्रममा बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट ४ जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले प्रदेश २-०२-००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही स्थानका ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, २१ वर्षीय इसराइन नदाफ र ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुर उप-महानगरपालिका ४ निवासी ३२ वर्षीय दीपककुमार पूर्वेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अटो र मोटरसाइकलमा सवार उनीहरुले लुकाईछिपाई १० वटा कार्टुनमा राखेर एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको छ ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।