४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा, रौतहटमा धर्मेन्द्र कुमार मिश्र

   ७ माघ २०७९, शनिबार १०:५३  

माघ ७, काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ । यसैगरी रौतहटमा कृष्ण बहादुर शाहीको स्थानमा धर्मेन्द्र कुमार मिश्रलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारका महानिर्देशक तिर्थराज भट्टराईलाई पठाइएको छ। यसअघि मोरङका प्रजिअ काशीराम दाहाललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरूवा गर्दा भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा सरूवा गरिएको छ।

यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरूवा गरेका सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।