भिजिबिलिटी कम भएपछि काठमाडौंमा अवतरण हुन सकेन विमान
माघ ६, काठमाडौं : भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण प्रभावित भएको छ।
नेपालगंजबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा ‘डाइभर्ट’ भएको छ। यस्तै, नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट उडेको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता ‘डाइभर्ट’ भएको छ।
मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।
विमानस्थल कार्यालयले काठमाडौंमा भिजिबिलिटी एकदमै कम भएकाले जहाजहरु ‘डाइभर्ट एन्ड होल्ड’ भएको जनाएको छ।
यस्तै, नेपाल एयरलाइन्सका सह-प्रवक्ता गणेश घिमिरेका अनुसार काठमाडौंमा न्यून भिजिबिलिटीका कारण जहाज अवतरण हुन नसक्दा भारत ‘डाइभर्ट’ गरिएको जानकारी दिए।
पछिल्लो समयमा भने मुम्बईबाट काठमाडौं आइरहेको भिस्तारा एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाश मै ‘होल्ड’ भइरहेका छन्।






