मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक उपचाररत

   २ माघ २०७९, सोमबार १७:४०  

२ माघ, बारा । बाराको सिम्रौनगढमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परेर जिल्लाको सिम्रौनगढ नगरपालिका १ बैरियाका २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आईतबार गएराति ९ बजे महागढीमाई नगरपालिका ९ थलही पुलमा गढीमाईबाट श्रीनगर तर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको पल्सर मोटरसाईकल अचानक अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ज्यान गुमाएका दुवै जनाको शव आज दिउँसो १ बजेतिर पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागबाट निकालेको प्रहरीले जनाएको छ । मृतक र घाईते तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।

यस्तै, दुर्घटनामा परेर घाइते भएका एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।