कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
१२ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना र भरतपुर अस्पतालमा दुई जना गरी थप ३ जनाको मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानको कोभिड अस्पतालमा उपचाररत मोरङको बेलबारी घर भएका ७६ वर्षीय एक संक्रमित पुरुषको गएराति करिब ९ः३० बजेको करिबमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
स्वास्थ्यमा समस्था भएपछि, यही मंसिर २ गते अस्पताल भर्ना भएका उनका पीसीआर परीक्षण गर्दा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा डायबिटिज र ब्लड प्रेसरको समस्यासमेत रहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर अस्पतालमा शुक्रबार बिहान कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको आज विहान ५ः१५ बजेको करिबमा मृत्यु भएको छ । उनमा यही मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण भएपछि, स्वास्थ्य समस्या जटिल बन्दै गएपछि, मंसिर ६ गते कोभिड आइसियूमा राखेर उपचार भइरहेका बेला आज बिहान ती संक्रमित वृद्धको मृत्यु भएको छ ।
त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।
५७ वर्षीया महिलालाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो । उपचारका क्रममा आज बिहान मृत्यु भएको पौडेलले जनाएको छ ।






