अघिल्लो वर्षको तुलनामा यो वर्ष कर्णालीमा धान उत्पादन बढ्यो

   ११ मंसिर २०७७, बिहीबार १५:०३  

११ मंसिर, रौतहट । यो वर्ष कर्णालीमा धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा साढे पाँच प्रतिशतले धानको उत्पादन बढेको हो । यस वर्ष कर्णालीमा १ लाख २० हजार ९ सय ७१ मेट्रिकटन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै साढे पाँच प्रतिशतले बढी हो ।

समयमै मौसम सुरु भएका कारण धानको उत्पादन बढेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । ‘यो वर्ष वर्षा धेरै भयो, किसानले पनि समयमै धान रोप्न पाए’, निर्देशक चित्रबहादुर रोकायले भने, ‘किसानको मेहनत र मौसमले पनि साथ दिँदा धानको उत्पादनमा बढ्यो ।’

यो वर्ष कर्णालीमा १० देखि २० प्रतिशतसम्म धानको उत्पादन बढ्ने अपेक्षा गरिएको थियो । तर, रासायनिक मलको अभाव र सलह कीराले धानको बीउमा क्षति पुयाउँदा अपेक्षाअनुसार उत्पादन बढ्न नसकेको निर्देशनालयको भनाइ छ ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमका केही क्षेत्रमा रासायनिक मल प्रयोग गरिन्छ । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयले जनाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार, सुर्खेतमा ४२ हजार ८ सय ३ मेट्रिकटन धान उत्पादन भएको छ । तथ्यांकअनुसार रुकुम पश्चिममा ८ हजार ९ सय ७६ मेट्रिकटन, सल्यानमा २८ हजार ९ सय, दैलेखमा ४ हजार ४ सय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिकटन धान उत्पादन भएको छ ।

त्यस्तै, डोल्पामा ६ सय ५, जुम्लामा २ हजार ९ सय, कालीकोटमा ९ हजार ४ सय ८९, मुगुमा ७ हजार ५ सय ७६ र हुम्लामा ७ सय ९० मेट्रिकटन धान उत्पादन भएको छ ।