त्रिशूलीमा पिकअप खस्दाँ २ जनाको शव फेला, एक जना अझै बेपत्ता

   ११ मंसिर २०७७, बिहीबार ११:११  

११ मंसिर, रौतहट । आज बिहान त्रिशुलीमा पिकअप खस्दाँ बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दी खोलाबाट त्रिशुलीमा बिहीबार बिहान लु १ च ९७३१ नम्बरको पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका १ बस्ने २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुरथापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो ।

प्युठानबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए ।

बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो ।

घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।