बालुवाटारमा वार्ता, तर भएन कुनै ठोस निर्णय
असार २१, रौतहट । सत्तारुढ दल नेकपाको विवाद मिलाउनका लागि आज बालुवाटारमा नेताहरुबीच भएको वार्तामा कुनै ठोस निर्णय नभएको भन्दै सोमबार वार्ता पुनः बस्ने गरी सकिएको छ । आज वार्तामा सहभागी भएका एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै ठोस निर्णय भएको छैन् ।
‘उठेका सबै विवादी विषयमा छलफल भए पनि कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।
स्थायी समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरिएको छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।
आजको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी भएका थिए ।
साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव पौडेल र पोखरेल तथा प्रचण्डपक्षबाट शर्मा र पुन सहभागी भएका हुन । यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएपनि आजको वार्तामा पोखरेल र पुन थप भएका हुन ।
बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिए । उनका अनुसार नेताहरुबीच सहमतिका लागि अझै बाँकी उपायहरु अपनाउने र भोलिको वार्ताले यस विषयमा कुनै ठोस निर्णय हुनेछ ।