सडक मर्मतमा कसैले ध्यान नदिएको भन्दै जनकपुरमा प्रदर्शन

   २१ असार २०७७, आईतवार ०६:५७  

असार २१, रौतहट । बर्षामा जमेको पानिका कारण स्थानीयवासीलाई आवतजावतमा अवरोध भएको तर सडक मर्मत गर्न कसैले ध्यान नदिएको भन्दै जनकपुरधामस्थित पुलचोकका बासिन्दाले हुलाकी सडकखण्ड अवरुद्व गरेका छन् । उनीहरुले टायर बालेर बिरोध गर्दै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हन् ।

स्थानीयवासीले जनकपुरधामदेखि यदुकोहा जाने हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम १६ मा सडक जाम गरेका छन् ।
सडकमा सवारीसाधन गुडाउन समस्या हुने गरी खाल्डा परेको स्थानीयवासीले बताएका छन् । खाल्डोमा पानी जमेपछि आवतजावतमा नै समस्या भइरहेको स्थानीय कृष्णप्रताप साहको भनाइ छ ।
कोही बिरामी हुँदा अस्पतालसम्म लैजानसमेत नसकिने अवस्था आएको भन्दै उनले खाल्डोका कारण दिनहुँ दुई तीनवटा दुर्घटना हुने गरेको बताएका हुन् ।

सडक मर्मत गरिदिन पटक पटक वडाध्यक्षदेखि मेयर र हुलाकी आयोजनाका पदाधिकारीलाई भन्दासमेत कसैले ध्यान नदिएका कारण आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ ।
वर्षाको मौसममा जमेको पानीका कारण खाल्डो पोखरीजस्तै बनेको छ, र सडक अवरोधका कारण दर्जनौं मोटरसाइकल सडकमै रोकिएका छन् ।