मन्त्री र सुरक्षा अधिकारीहरुको अगाडी नै बाग्मतीमा गाँउले बग्न थाले पछि

   २० असार २०७७, शनिबार ०६:४२  

२० असार, रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बाग्मती नदी किनारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिवासको कार्यक्रम संचालन भइरहेको बेला बाग्मतीको नदीको पानीमा डुब्दै गरेका दुई गाँउले गुहार माग्दै कराउन थाले ।


सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले आफ्नो मनत्व समाप्त गरेको एकै क्षणमा कार्यक्रम स्थल भन्दा झण्डै सय मिटर उतर बाट आएको त्यो आवाजले सबैको ध्यान उतै तान्यो । बाग्मती नदी माथिको झुलुङ्गे पुलमा रहेका सशस्त्र प्रहरीका जवानहरु तुरुन्त हरकतमा आए, पुल माथि बाट डोरी फाले, त्यसैमा झुण्डीएर उर्लिएको बाग्मतीमा पसे र बगिरहेका दुई जनालाई नदी किनार सम्म सुरक्षित पु¥याए । नदी किनारमै रहेको सशस्त्र प्रहरीको मेडिकल टिमले तुरुन्त उनीहरुको प्राथमिक उपचार गरे ।


नुनथरको बाग्मती किनारमा दुई जनाको उपचार हुदै गर्दा नदीबाट फेरी गाँउलेहरु चिच्याएको आवाज आउन थाल्यो । केही गाँउले नदीमा बग्दै ‘बचाउ बचाउ’ भनेर कराइरहेका थिए । नदी किनारमा रहेको सशस्त्र प्रहरीको अर्को एक टोलि रबर बोट लिएर डुबिरहेका गाँउले तर्फ हुइकिए तर गाँउलेलाई जोगाउन गएको सो रबर बोट बाग्मतीको भेलमा आफै पल्टीयो । नदी किनारमा रहेका प्रदेश २ का सामाजिक विकास तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल लगायत ८ जिल्लाका प्रहरीका उच्च सुरक्षा अधिकारीहरु हेरेको हेरै भए ।


नदीको पानीमा डुबेकालाई उद्धार गर्न भएको रबर बोटलाई सशस्त्र प्रहरीका उद्धारकहरुले फेरी पहिले अवश्थमा ल्याउदै बगेकाहरुको उद्धार गरी नदी किनारमा ल्याए । शुक्रवार बाग्मती नदीमा देखिएको यो दृश्यहरु भने सशस्त्र प्रहरीको अनुशिक्षण तालिमको प्रर्दशनि थियो । बाग्मतीमा डुबेका ती गाँउलेहरु सबै सशस्त्र प्रहरीहरुनै थिए । सशस्त्र प्रहरीको जल उत्पन्न प्रकोप उद्धार अनुशिक्षण पाँच दिने तालिमको अन्तिम दिन नमुना प्रदर्शन समारोहमा विपद् र विपदपश्चात तत्काल उद्धार गर्न तालिमप्राप्त उद्धारकहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।


अन्तीम दिनको सो समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले सशस्त्र प्रहरीले देखाएको कलाको प्रशंसा गरे । “सिमित श्रोत साधनका बाबजुद पनि सुरक्षाकर्मीहरुले विपतका बेला आफ्नो ज्यानको समेत परवाह नगरेर काम गर्नु भएको छ ।” मन्त्री यादवले भने “प्रदेश २ मा वर्षाको बेलामा बाढी र डुबानले ठूलो क्षति गर्ने गर्दछ । क्षति न्यूनीकरण गर्न हामीले दक्ष जनशक्तिको तयारी गर्नु पर्ने आवश्यक्ता छ ।” उद्धारकहरुलाई चाहिने आवश्यक सामग्रीको लागी आफूले पहल गर्ने समेत उनले बताए ।


प्रदेश २ मा बाढी र डुबानको समस्याहरु आउने हुनाले विपत भन्दा पहिलेको पूर्व तयारीको अभ्यास प्रशिक्षण गराइएका सशस्त्र प्रहरीका डिआजी राजु अर्यालले बताए । “८ वटै जिल्लाका गणहरुमा उद्धारकहरुको ११ जनाको एक सेक्सन राखिएको छ ।” डिआइजी अर्यालले भने “छिन्नमस्ता बाहिनीमा विपताका बेला परिचालन हुने गरि एउटा रिजर्भ टिम राखिएको छ ।” प्रदेश २ मा १३५ जना तालिम प्राप्त उद्धारकहरु रहेको र हरेक सशस्त्र प्रहरीलाई समेत अनुशिक्षण तालिम दिएर उद्धार गर्न योग्य बनाउने काम भएको उनले बताए ।