जनस्तरबाट रकम उठाएर डडेलधुरामा पीसीआर मेसिन
असार १९, रौतहट । जनस्तरबाट रकम संकलन गरेर डडेलधुरामा जिल्ला अस्पतालमा जडान गरिएको पीसीआर मेसिनबाट कोरोना भाइरस (कोभिड १९) परीक्षण सुरु भएको छ ।बिहीबार राति र शुक्रबार विहान दुई लट नमुना परीक्षण गरिएको ल्याबका इन्चार्ज ईश्वरी भुसालले बताए । उनका अनुसार ल्याब सञ्चालनका लागि सेती अस्पताल, धनगढीबाट रमेश शाही र जिल्ला अस्पताल, बझाङबाट नरेश खड्का पनि आएका छन् । अस्पतालले काठमाडौंबाट तीन जना बोलाएको छ, उहाँहरुलाई पनि ट्रेन गरेर आवश्यक अनुसार परीक्षण गर्छौं’ भुसालले भने ।
यसअघि प्रदेश ७ मा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मात्र पीसीआर मेसिन जडान गरिएको छ । पहाडी जिल्लाहरुमा संकलन गरिएको नमुना धनगढी ल्याउन पनि घण्टौं लाग्ने र समयमा रिपोर्ट नआउने भएपछि डडेलधुरामै पीसीआर मेसिन जडान गर्न जनस्तरबाट रकम संकलन सुरु भएको हो ।विदेशमा रहेका सुदूरपश्चिमबासीहरुको सस्था सुदूरपश्चिम समाजमा आवद्ध मानिसहरुले सहयोग गरे, अरुले पनि रकम दिए । नेपालमा पनि उद्यमी, खेलाडी, कलाकार लगायतले सहयोग गरे । छोटो समयमा नै ७४ लाख १५ हजार रुपैयाँ जम्मा भएको ह्युमनिटी फाउण्डेसनका अध्यक्ष अमरबहादुर शाहीले बताए ।शुक्रबार मात्र ८ लाख १३ हजार ६६५ रुपैयाँको चेक फाउण्डेसनका अध्यक्ष शाहीलाई हस्तान्तरण गरिएको छ । सहयोगका लागि आएको प्रतिवद्धता समेत गर्दा १ करोड २० लाख हुन्छ’ भन्छन्, कोरोना महामारीका कारण अहिले हामी सबै समस्यामा छौं । तर सही सोच भयो भने यस्तो बेलामा पनि सहयोग जुट्ने रहेछ ।’
यही रकमबाट ९६ लाख रुपैयाँमा पीसीआर मेसिनसहित कोरोना परीक्षणका लागि चाहिने सामाग्री खरिद गरिएको छ ।
अभियान्ताहरुले जनस्तरबाट उठेको सहयोग रकमको सही सदुपयोग गर्ने बाचा समेत गरेका छन् । सुदूरपश्चिमका सात जिल्लाका लागि पायक पर्ने भएकाले पीसीआर मेसिन जडानका लागि डडेलधुरा अस्पताल छनोट गरिएको अभियानमा संलग्न तेक्वान्दो खेलाडी दीपक विष्टले बताए ।डडेलधुरा अस्पतालको ल्याब इन्चार्ज भुसालका अनुसार यो मेसिनमा एक पटकमा बढीमा ९६ वटा नमुना परीक्षण गर्न मिल्छ । भीटीएमको अभाव छैन भने परीक्षणका लागि चाहिने आरएनए एक्ट्र्याक्सन र पीसीआर किट भने सरकारले सुदूरपश्चिम प्रदेशका लागि सेती अस्पतालमा पठाएको मध्ये ५०० वटा ल्याइएको छ ।जिल्ला विपत व्यवस्थापन समितिमार्फत स्थानीय तहसँग समन्वय गरेर नमुना संकलन गर्ने गरिएको छ ।