७ दिनभित्र कोरोना बीमाको दाबी भुक्तानी गर्न बीमा समितिको निर्देशन

   १९ कार्तिक २०७७, बुधबार १२:४३  

१९ कार्तिक, रौतहट । बीमा समितिले सात दिन भित्र कोरोना बीमाको दाबी भुक्तानी गर्न सबै निर्जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कोरोना बीमाको दाबी भुक्तानीमा आलटाल भएर चौतर्फी आलोचना भएपछि अर्थमन्त्रालयले बीमा समितिलाई पत्र लेखेर ७ दिनभित्र दाबी भुक्तानी सल्टाउने व्यवस्था मिलाउन भनेको थियो ।

अर्थको निर्देशन लगत्तै समितिले मंगलबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । समितिले जारी गरेको सर्कुलरमा पिसिआर रिपोर्ट पोजेटिभ भएका सबै कोरोना बीमितिलाई दावी भुक्तानी गर्न भनिएको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थको पत्रअनुसार बीमा समितिले मंगलबार नै दाबी भुक्तानी गरिसक्न निर्देशन दिएको बताए ।

समितिका अनुसार हालसम्म २० हजार भन्दा बढी बीमितले दुई अर्ब रुपैयाँ बढी बीमा दावीको लागि कागजात पेश गरेका छन् । गत सातासम्म १ हजार ४४१ वटा दाबी बापत १५ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ ।