पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

   १९ असार २०७७, शुक्रबार ०६:३८  

असार १९, रौतहट । पोखरामा प्रधानमन्त्रको समर्थनमा प्रदर्शन भएको छ । केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।
प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाए, र ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएकोसमेत बताएका छन् । ५ वर्षीय स्थायी सरकार भनेर मतदान गरेका थियौं । बेमौसमी बाजा बजाएर ब्यक्तिगत स्वार्थ र कुर्सिको लागि अनिष्ट निम्त्याइरहेका छन्,’ प्रदर्शनमा रहेकी एक महिलाले भनिन्, भारतीय दलालको पक्षमा लागेर, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई कमजोर बनाइएको छ । भारतीय मिडियामा खुसीयाली मनाइएको छ ।’


विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी र विदेशी शक्ति लागेकाले युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए । पोखरामा बिहानैदेखि परेको झरीकाबीच पनि प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर लिएर ५० जनाभन्दा बढी प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा बढी थिए । यसअघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।