भन्सार कर्मचारी र सुरक्षाकर्मीकै कारण राजश्व प्रभावित

   ११ पुष २०७९, सोमबार ११:२५  

११ पुस, रौतहट । राजश्व संकलन गर्न नेपाल सरकारले संचलान गरेको भन्सार कार्यालयका कर्मचारीहरु गैर जिम्मेवार बनेपछि रौतहटमा राजश्व संकलन प्रभावित बनेको छ ।

भन्सार कार्यालयसँगै रहेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको यूनिट र भन्सार कर्मचारीको मिलेमतोमा संगठित तस्करी शुरु भए पछि राजश्व प्रभावित भएको हो ।
व्यवसायीले ल्याएको मालसमानहरुको प्रत्येक पोकामा २ हजारको भन्सार काटेर ६ हजार रुपैया कर्मचारीहरुलेभ गोजीमा भर्न थाले पछि भन्सार कार्यालयले राजश्वको लक्ष्य प्राप्त गर्न सकेको छैन ।

सीमा सुरक्षा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विजय खड्काले खुलेआम रकम लिएर मात्रै पोके कारोवारी देखि लिएर संगठित तस्करहरुका सामानहरु निर्वाध रुपमा छाडने गरेको एक व्यवसायी बताउछन । “दुई बोरा चामल लिएर आउदा १ हजार रुपैंया असइ खडकाले माग्छ ।” एक पोके कारोबारी भन्छन “साताकै एक हजार उनलाई बुझाए पछि मात्रै चामल ओसार्न दिन्छ नभए नियन्त्रण्मा लिन्छ ।”

यसै गरी राजदेवी नगरपालिकाको लक्ष्मिपुर वेलविछवा र ब्रम्ह्पुरी भएर सयौं कार्टुन मदिरा दैनिक रुपमा भारत तर्फ जाने गरेको तथा सीमा पारी भारतबाट कपडा, सुर्ती, पशुचौपाया लगायत विभिन्न सामाहरु नेपाल भित्रिदा दैनिक रुपमा लाखौं राजस्व प्रभावित भईरहेको छ । गयराति सशस्त्र प्रहरीले गाडी सहित बरामद गरेको मदिराले पनि सो क्षेत्रबाट लामो समय देखी मदिरा तस्करी हुने गरेको प्रष्ट पारेको छ ।

आइतवार राति सशस्त्र प्रहरीले राजदेवी नगरपालिकाको ब्रह्मपुरीबाट बिआर२९एस९४०४ नम्बरको गाडी सहित १ सय १८ कार्टुन मदिरा बरामद गरेको छ । बिहारमा मदिरा विक्रि वितरण बन्द भए पछि रौतहटको यो नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा लामो समय देखी मदिरा तस्करी हुदै आएको छ । यस कार्यमा सशस्त्र प्रहरीको लक्ष्मिपुर स्थित विओपीका निरिक्षक उमेश ढकालको संरक्षण रहेको छ । राजनीतिक संरक्षण समेत पाएका केही तस्करहरु दिउसै र रातिको समयमा सयौं कार्टुन मदिरा भारत तर्फ तस्करी गराउने गरेका छन् ।

रौतहटकै बन्जरहाबाट अमरजीत सहित ५ जनाको समुहले केराउ, छोकरा, कपडा, चिनी लगायतका सामानहरु नेपाल भारत ल्याउने लैजाने गरेको छ । नरकटियाबाट बच्चाबाबु र रुपेश भन्ने व्यत्तिले चिनीको ठूलो कारोवार गरिरहेका छन् उक्त कार्यलाई विओपी सरमुजवाको संरक्षण प्राप्त रहेको बताइएको छ । श्रोतका अनुसार डिआइजी देखि लिएर जिल्लाको एसपी सम्मको नाममा लाइनको रकम उठाइने गरिएको छ ।

रामपुरखाप भएर हरिकिशुन साह भन्ने चतराले कपडा र चिनीको ठूलो परिमाणमा कार्य गरिरहेको र सो कार्यलाई विओपी रामपुरखापको संरक्षण प्राप्त रहेको श्रोतले दाबी छ । श्रोतका अनुसार सेटिंग नभएका मालसामानहरुलाई मात्रै घुमुवा प्रहरी वा अन्य विओपीबाट खटिएको टोलीले नियन्त्रणमा लिने गरेका छन ।।