प्रशासन फितलो हुदा सरकारी गाडीको बढ्यो दुरुपयोग
पौष ३, रौतहट । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोगको क्रम रौतहटमा बढेको छ ।
शनिवार वा सार्वजनिक बिदाका दिन सरकारी गाडीलाई मोजमस्तीको काममा प्रयोग गर्दा समेत नियमनकारी निकायले कारवाही गर्न सकेको छैन । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्नु पर्ने भए जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट अनिवार्य रुपमा पास लिनु पर्ने प्रावधान रहे पनि सो को वेवास्ता गर्दै पालिका प्रमुखहरुले सरकारी गाडीको चरम दुरुपयोग गरि रहेका छन ।

हिजो शनिवार चन्द्रपुर नगरपालिकाको नुनथरमा सरकारी गाडीहरुको तातीले पनि रौतहटमा नियमनकारी निकायनै नभएको भान भएको स्थानियले बताएका छन । गुजरा नगरपालिकाको ना १ झ १६२६ र प्रदेश २– ०३ –००१झ ००२१ नम्बरको गाडी रौतहटको पर्यटकिय स्थल नुनथरमा रहेको मदिरा पसल अगाडी दिनभरी देखिएको थियो । शनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारी गाडी मदिरा पसल अगाडी राखेर मदिरा सेवनमा मस्त थिए ।
शनिवार सो नगरपालिकाका अधिकांस सरकारी नम्बर प्लेटका मोटर साईकल समेत नुनथरमै थिए । सञ्चारकर्मीहरुले सो बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा सरकारी सवारी साधान दुरुपयोग गर्ने नगरपालिकाका कर्मचारी माथि कारवाही गर्ने रेडिमेड जवाफ आएको थियो । नियम विपरीत बिदाका दिन सरकारी गाडी प्रयोग गर्दा बाटोमा पर्ने प्रहरीका यूनिट र ट्राफिक प्रहरी पनि मुखर्दशक भएर बस्ने गरेका छन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले निगरानी गर्न नसक्दा सरकारी सम्पतीको दुरुपयोग बढेको नागरिक समाजका अगुवा बताउछन । प्रशासन कार्यालय चुस्त दुरुस्त हुन नसकेकै कारण रौतहटमा बेथिति मौलाएको उनीहरुको आरोप छ । सरकारी सवारी साधनलाई बिहे ब्रतबन्ध, पिकनीक, जन्ती र घुम्न जाने काम मात्र होइन परिवारजनलाई सामान किनमेल गर्न लैजान र ओसार्न समेत रौतहटमा प्रयोग भएको छ ।






