इन्स्टाग्राममा अब चार घन्टासम्म लाइभ गर्न सकिने

   १३ कार्तिक २०७७, बिहीबार १३:५३  

१३ कात्तिक, रौतहट । सामाजिक सञ्जाल इन्स्टाग्राम विश्वभरका करोडौँ मानिसले प्रयोग गर्दै आइरहेका छन् । सर्वसाधारणले आफूप्रति देखाएको आकर्षणलाई इन्स्टाग्रामले विशेष ध्यान दिँदै पनि आइरहेको छ ।

विशेषगरी इन्स्टाग्राम प्रयोगकर्ताले लाइभ इस्ट्रिम (प्रत्यक्ष प्रसारण) फिचरलाई धेरै नै मन पराएका थिए । तर, यो फिचरमार्फत एक घन्टा मात्रै लाइभ गर्न सकिन्थ्यो । यसबाट केही प्रयोगकर्ता असन्तुष्ट बनिरहेका थिए । उनीहरू जस्तै प्रयोगकर्ताको मागअनुसार इन्स्टाग्रामले अब चार घन्टासम्म लाइभ गर्न सकिने व्यवस्था गरेको छ । हालै मात्र इन्स्टाले योसहित तीन नयाँ फिचर थपेको छ ।

यति मात्रै होइन, कम्पनीले लाइभ अर्काइभको व्यवस्था पनि गरेको छ । जसमा प्रयोगकर्ताले लाइभ गरेका भिडियोहरू ३० दिनसम्म रहनेछन् । तर, यो भिडियो हेर्न भने प्रयोगकर्ताले मात्रै पाउँछन् । यसअघि इन्स्टामा पोस्ट र स्टोरीहरू मात्रै स्टोर गर्न सकिन्थ्यो । यसरी नयाँ फिचर थपिएकोबारेमा कम्पनीले ट्विटरमार्फत जानकारी दिएको छ ।

लाइभ स्ट्रिमिङको समयावधि बढेसँगै प्रयोगकर्ताले विभिन्न फाइदा लिन सक्नेछन् । अब प्रयोगकर्ताले खाना बनाउनेदेखि लिएर लाइभ क्लास लिने, घुमफिर र रमाइला गतिविधि घन्टौँसम्म लाइभ गर्न सक्नेछन् । यसअघि लाइभ गर्दा हरेक एक घन्टामा रिस्टार्ट गर्नुपर्ने बाध्यता थियो ।