टेलिकमले फोरजी का लागि पायो १८०० मेगाहर्ज ब्याण्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी
३ कात्तिक, रौैतहट । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी विस्तारका लागि १८०० मेगाहर्ज ब्याण्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको छ ।
त्यसका लागि नेपाल टेलिकमलाई ९ बुँदे सर्तसहित रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको २५ औं बैठकले फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।
टेलिकमले सन् २०२० को अन्त्यसम्म देशका ७७ जिल्लामा फोरजी विस्तार गरिसक्नुपर्ने र सन् २०२२ को अन्त्यसम्म ९५ प्रतिशत शहरी क्षेत्रमा फोरजी सेवा विस्तार गर्नुपर्ने सर्त राखिएको छ ।
त्यस्तै सन् २०२२ को अन्त्यसम्म नगरपालिका र गाउँपालिकाका ९० प्रतिशत जनसंख्यामा फोरजी सेवा पुर्याउनु पर्ने, २०२२ को अन्त्यसम्म ९५ प्रतिशत पर्यटकीय क्षेत्र, राष्ट्रिय निकुञ्ज, राजमार्ग लगायत क्षेत्रमा फोरजी सेवा विस्तार गरिसक्नु पर्ने उल्लेख गरिएको छ ।
त्यसरी जडान गरिएको फोरजी साइट एलटीई एड्भान्स हुनुपर्ने सर्त राखिएको छ । साथै फोरजीको स्पिड सहरी भेगमा न्यूनतम २० एमबीपीएस र ग्रामीण भेगमा न्यूनतम १० एमबीपीएस भन्दा माथि हुनुपर्ने उल्लेख छ ।
यी सबै कुरा हासिल गर्न टेलिकमले सन् २०२२ सम्म थप ३ हजार नयाँ फोरजी साइट स्थापना गर्नुपर्ने छ । यसरी साइट बनाउँदा अन्तराष्ट्रिय प्रावधान पुरा गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै सर्तमा टेलिकमले हरेक तीन महिनामा प्राधिकरणमा फोरजी साइट निमार्णबारे प्रतिवेदन बुझाउनु पर्नेछ ।