विश्वभर कोरोना भाइरसका कारण ५ लाखको मृत्यु, ५८ लाख निको भएर घर फर्किए

   १७ असार २०७७, बुधबार १०:०६  

असार १७, रौतहट। विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमित भएर बुधबारसम्ममा ५ लाखभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या ५ लाख १४ हजार ३२२ रहेको छ ।
विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ, भने कूल सङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ । कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार ९९६ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ ।
कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्रभावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४८५ जना सङ्क्रमित भएका छन्, भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ । सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् । कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ ।