जनकपुरमा पोजेटिभ, हेटौंडामा निगेटिभ ।
१६ असार, रौतहट ।
सोमवार साँझ जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कर्मचारीहरु संक्रमित भएको भन्ने रिपोर्ट आए पछि स्वास्थ्यका कर्मचारीहरु तनावमा परे । जनकपुर स्थीत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले दिएको रिपोर्टमा रौतहटका जनस्वास्थ्य अधिकृत, तिन कर्मचारी र एक जना गैरसरकारी सँस्थाकी महिलामा कोरोना संक्रमण पुष्टी भएको बताइयो ।
जिल्ला स्वास्थ्यका २७ वर्षिय स्वास्थ्य अधिकृतनै संक्रमित भएको रिपोर्ट आए पछि कार्यालयका सबै कर्मचारीहरु मानसिक तनावमा परे । जनकपुर बाट साँझ आएको रिपोर्टमा चित नबुझे पछि पाचै जना कर्मचारीको पुनः स्वाब संकलन गरेर रातारात हेटौंडा पु¥याइयो । “हेटौंडाको ल्याबमा अनुरोध गरेर तुरुन्तै परिक्षण गराउदा आज ती पाँच जनाको रिपोर्ट निगेटिभ आएको छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले भने “ जनकपुरको ल्याबको गल्तीले गरेर सद्दे मान्छेलाई पनि संक्रमित बनाएको रिपोर्ट दिनु दुखद हो ।”
जनकपुरको प्रादेशिक ल्याबले चरम लापरवाही गर्ने गरेको कुरा यसै घटनाबाट समेत पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला माथि यो घटनाले गम्भीर प्रश्न चिन्ह उठाएको भन्दै स्वास्थ्य प्रमुख साहले यस्ता गल्तीले स्थानियलाई मानसिक तनाव थप्ने काम भएको बताए । ल्याबको रिपोर्टले पाँचै जनाको परिवारमा तनाव भएको र कन्ट्याक्ट ट्रेसिङ्ग लगायतको काम शुरु गर्नु भन्दा पहिले पुनः अर्को ल्याब बाट परिक्षण गराएर हेर्नु पर्ने निष्कर्ष पछि गरिएको परिक्षणमा हेटौंडाको ल्याबले निगेटिभ देखाएको साहले बताए ।
संक्रमण भएको स्थानमा वा संक्रमितहरुको नजिक समेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीहरुको स्वाबको नतिजा पोजेटिभ आए पछि शंका उत्पन्न भएको र पुनः मंगलवार राति ८ बजे सम्म पाचै जनाको स्वाब संकलन गरेर हेटौंडा पठाएको प्रमुख साहले बताए । गौर अस्पतालकै एक कर्मचारीको छोरामा केही दिन अगाडि संक्रमण पुष्टी भए पछि गत ११ गते बिहिवार स्वास्थ्य कार्यालयका २३ जनाको स्वाब संकलन गरेर पठाइएको थियो जसमध्ये १४ गते १२ जनाको रिपोर्ट निगेटिभ आएको थियो भने १५ गते हिजो बाँकी ११ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रादेशिक ल्याबको कमजोरी पुष्टी भए पछि यस अघि सोही ल्याबको रिपोर्टले आइसोलेसनमा बसि रहेकाहरु साच्चै पोजेटिभ हुन वा होइनन भन्ने प्रश्न उब्जीएको छ । जनकपुरमा रहेको प्रादेशिक ल्याबमा रौतहट बाट २ हजार ३ सय जनाको स्वाब पठाईएकोमा सो मध्ये केही स्वाब काठमाण्डौं पनि गएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । जनकपुरको ल्याबले पोजेटिभ देखाएकाहरुलाई अन्य स्थानको ल्याबबाट पुनः परिक्षण गरेर हेर्नु पर्ने आवश्यक्ता देखिएको छ ।