अमेरिका: टिकटकमाथि प्रतिबन्धले लगाउने आदेशमाथि अदालतले लगायो रोक
१२ असोज, रौतहट। अमेरिकाको एउटा अदालतले चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । वासिङ्टनस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीशकार्ल निकोल्सले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनमाथि तत्कालका लागि रोक लगाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार स्थानीय समयअनुसारआइतबार राति ११ बजेर ५९ मिनेटदेखि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । न्यायाधीश निकोल्सले टिकटकको सञ्चालक कम्पनी बाइटाडान्सको अनुरोधमा तत्कालका लागि प्रतिबन्ध नलगाउन फैसला सुनाएका हुन् ।
आइतबार मुद्दाको सुनुवाइका क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धको औचित्य नभएको बताएका थिए । टिकटकको अपनत्वका विषयमा कुराकानी चलिरहेकाले आइतबार रातिदेखि प्रतिबन्ध लगाउने निर्णयको औचित्य नभएको दलिल उनले पेस गरेका थिए । अब अदालतको अर्को आदेश नआउँदासम्मका लागि अमेरिकामा टिकटक प्रयोग गर्न पाइने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका थिए । अमेरिकी अधिकारीहरुले बाइटडान्सले टिकटकमार्फत अमेरिकी नागरिकका सूचना चिनियाँ सरकारसम्म पुग्न सक्ने आशंका व्यक्त गरेका थिए । तर कम्पनीले भने एपका कारण कुनै पनि सुरक्षा खतरा नहुने भन्दै ट्रम्पको भनाईको खण्डन गरेको थियो ।
विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ ।
एजेन्सी