जिमेलको नयाँ लोगो यसरी हुँदैछ डिजाइन

   ७ आश्विन २०७७, बुधबार ११:२८  

७ असोज, रौतहट ।  गुगलले जीमेलको नयाँ लोगो डिजाइन गर्ने तयारी गरिरहेको छ । कम्पनीले २००४ मा जिमेल सुरू गरेदेखि एउटै लोगो प्रयोग हुँदै आएकोमा अब परिवर्तन गर्न लागेको हो ।

यसअन्तर्गत लोगोमा रहेको चिठीको खाम अब पुरै हट्ने र एम लेटरमै रंग भर्ने तयारी गुगलले गरेको छ । नाइन टु फाइभ गुगलमा सेयर गरिएको तस्वीर एउटा रेखाचित्र (मोनोक्रोम) मात्रै हो ।

गुगलले लामो समयदेखि पुराना एपको आइकनहरूमा गुगल लोगोको चार रंगहरू समाहित गर्दै रिडिजाइन गर्दै छ। तर प्ले ब्रान्डेड एप्सहरु र युट्युबका लोगो परिवर्तन गर्ने पक्षमा गुगल छैन ।

जिमेलको आइकनमा पनि गुगल लोगोको रंग हुने अनुमान गरिएको छ । जिमेलको लोगो परिवर्तनसँगै गुगलले जिमेलमा नयाँ फिचरहरु पनि थप्ने तयारी गरिरहेको हुनसक्ने विश्लेषण गरिएको छ ।

गुगल फोटोको लोगो परिमार्जन हुँदा पनि गुगलले केहि नयाँ सुविधाहरू शुरू गरेको थियो । साथै कम्पनीले गुगल म्याप्सको पनि लोगो परिवर्तन गरेको थियो ।  जिमेलमा नयाँ परिवर्तनसहित लोगो कहिलेआउने भनेर समय तोकिएको त छैन, तर यो केहि महिना भित्रै हुने सम्भावना छ।