‘त्यतिबेला सलह पोलेर बिक्री गरिन्थ्यो’
असार १५, रौतहट । सानै भएकाले त्यति धेरै कुराको हेक्का हुँदैनथ्यो । किनकि म त्यस्तै १३ वर्षको थिएँ । काठमाडौंमा सलह आएको कुराले भने त्यतिबेला सबै सलबलाएका थिए । मै बच्चालाई पनि त्यो नौलो घट्नाले आकर्षित गरिहाल्यो ।
त्यतिबेला गोरखापत्र हप्तामा एक दिन प्रकाशित हुन्थ्यो । त्यसले सलहबारे समाचार लेख्यो वा लेखेन थाहा भएन । उसबखत अहिलेको जस्तो सलह कहाँ आइपुग्यो, नेपालमा आउँछ कि आउँदैन र आयो भने के बिगार गर्छ भनेर बताउने विज्ञहरू थिएनन् । विज्ञका कुरा समाजमा पु¥याउने पत्रपत्रिका वा अनलाइन र पत्रकारहरू पनि थिएनन् । सलह एक्कासी आएपछि खैलाबैला मच्चियो ।
सलहको बथान यति ठूलो थियो कि दिउँसो बादलले घाम छलेजस्तै भयो । त्यतिबेला अहिले जस्तो खचाखच घर थिएनन् । काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश भागमा खेती गरिन्थ्यो । मकै हुर्किंदै गरेको समय थियो । सलहको बथान आएर मकैबारीमा छपक्क बस्थ्यो । सलह उँडेर जाँदा कलिला मकैको फेदको डाँठमात्र बाँकी रहन्थ्यो । त्यो देखेर हामी केटाकेटी जिल्ल पथ्र्यौं ।
उपत्यकामा दुई–तीन दिनसम्म सलह देखिएको थियो । सलहले नटोक्ने भएकोले हामी केटाकेटी त्यसको खुट्टामा धागो बाँधेर खेल्थ्यौं ।
अहिले त म १०१ वर्षको भैसकेँ, पुराना कुरा धेरै सम्झन सक्दिन । अहिले फेरि सलह नेपाल भित्रिएपछि एउटा रमाइलो कुरा सम्झिएको छु ।
त्यसबेला मानिसहरूले सलह खाएका थिए । सलह बेच्न पसलहरूमा राखेका पनि थिए । त्यतिबेला अहिले जस्तो ग्यास थिएन । दाउराको आगोमा मकै पोलेजसरी सलह पोल्थे र बिक्री गर्थे । मैले पनि किनेर खाएको थिएँ ।
देशभर सलहले कति नोक्सान गर्यो, त्यो मलाई थाहा हुने कुरा भएन । सलहका कारण अनिकाल लाग्यो कि लागेन त्यो पनि थाहा भएन । त्यतिबेला सबैले भनेको एउटा कुरा के हो भने– सलह गतिलो चिजचाहिँ होइन ।