जलकुम्भीले ढाकियो फेवाताल
असार १५, रौतहट । पोखरा वर्षा लागेसँगै फेवातालको पानीको सतह बढेपछि जलकुम्भी र बन्दा झार तालमा फैलन सुरु भएको छ । बर्षा लागेपछि तालको मुहान क्षेत्रमा रहेका पानीको स्रोतहरु खहरे खोला, हर्पन खोला बढेसँगै तालको पानीको सतह बढ्ने गर्दछ ।
तालको सतह बढेसँगै फेवा सिमसार क्षेत्रमा फैलिएर रहेको जलकुम्भी झारको साथै बन्दा झार तालमा फैलिन सुरु भएको हो । एक हप्तादेखि तालमा झार फैलन सुरु भएको हर्पन फेवा मत्स्य सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर जलारीले बताए ।
२५ वर्षअघिदेखि फेवातालमा जलकुम्भी झार देखिन सुरु भए पनि बन्दा झार भने १५ वर्ष अघिदेखि तालमा देखा परेर फैलन सुरु भएको उनले बताए । पछिल्लो समयमा जलकुम्भी झरसँगै बन्दा झार पनि फैलने क्रम बढेको हो । वर्षा याममा तालमा बाक्लै गरी जलकुम्भी झार फैलिँदा तालपारीबाट दैनिक पोखरा बजारमा तरकारी, दूध बिक्री गर्न डुंगामा आउने किसान डुंगा चलाउन अप्ठ्यारो हुने गरेको बताउँदै आएका छन् ।
सामान्य अवस्थामा भन्दा ४५ मिनेट बढी समय लाग्ने गरी गत वर्ष तालमा जलकुम्भी झार फैलिएको किसानले बताएका थिए । तालपारीबाट बजारका विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई पनि उत्तिकै सास्ती हुने गर्दछ ।
बन्दा झारलाई वाटर लेटुस भनिन्छ । यो झार पनि जलकुम्भी झार जतिकै फैलावट हुने मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराका प्रमुख डा। एकबाल हुसेनले जानकारी दिए । वाटर लेटुसले भन्दा जलकुम्भी झारले पानीमा भएको पोषक तत्वलाई बढी उपयोग गर्ने पनि उनले सुनाए । यसले तालको पानीको गुणस्तर जस्तै घुलीत अक्सिजन र पानीको पार्दसिता घटाउने गर्छ । यसले गर्दा माछालाई असर गर्ने पनि उनले बताए ।