जिउँदो कुखुरा र मासुको भाउ बढ्दै
२८ भदौ, रौतहट । बोइलर कुखुरा जिउँदो र मासुको भाउ फेरी एकाएक बढ्न सुरु भएको छ । भाउ सस्तिएर लागत नै उठाउन गाह्रो परेपछि खोरमा नयाँ चल्ला हाल्ने क्रम घट्दा अब पुनः भाउ बड्ने अवस्था बनेको हो ।
कुखुराको उत्पादन घट्न थालेपछि मूल्य बढाउनु परेको पोल्ट्री संघका अध्यक्ष जंगबहादुर वीसीले बताए । जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी १० रुपैयाँ बढेर १ सय ८० र तयारी मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेर २ सय ५५ रुपैयाँ कायम भएको जानकारी उनले दिए । अबका केही हप्ता भाउ घट्ने देखिँदैन, उनले भने, लागत मूल्य उठ्ने भाउमा मूल्य स्थिर रहन सक्छ ।
गत शुक्रबारसम्म बजारमा मासु प्रतिकेजी २ सय ४० रुपैयाँमा उपभोक्ताले किन्ने गरेका थिए । थोकमै बढेपछि त्यसको असर खूद्रा बिक्रीमा पर्ने देखिएको छ । गत महिना उत्पादन घट्दा प्रतिकेजी ३ सय ९० रुपैयाँसम्म पुगेको थियो ।
साउनको दोस्रो साताबाट धेरैका कुखुरा बजारमा आउन थालेपछि, भने मूल्य घट्न थालेको थियो ।