रौतहटमा २ वडा अध्यक्ष सहित १४ जनामा कोरोना संक्रमण

   १४ असार २०७७, आईतवार १०:३०  

१४ असार, रौतहट । रौतहटका विभिन्न पालिकाहरुमा समुदाय स्तरमा कोरोना संक्रमण वृद्धि हुन थालेको छ ।
रौतहटका जनप्रतिनिधि सहित पालिकाका कर्मचारीहरुमा समेत संक्रमण पुष्टी भए पछि त्राश बढेको छ । जिल्लाको बौधिमाई नगरपालिकाका २ वडा अध्यक्ष, २ कार्यपालिका सदस्य, १ स्वास्थ्यकर्मी, वडा अध्यक्षको १ छोरी, १ सशस्त्र प्रहरी र सात कर्मचारी गरी १४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए ।

शनिवार आएको स्वाब परिक्षणको नजितामा वडा नं. ७ र ८ का वडा अध्यक्ष  संक्रमित भेटिएका हुन । क्वारेन्टीनका व्यक्तिहरुमा मात्र देखिदै आएको संक्रमण अब स्थानिय व्यक्ति समेतमा पुष्टी हुन थाले पछि रौतहटमा समुदाय स्तरमा कोरोना फैलिएको पुष्टी भएको छ । समुदाय र परिवार सँग रहेका १४ व्यक्ति एकै पटक संक्रमित भए पछि स्थानीयहरुमा चिन्ता थपिएको छ । जिल्लामा कोरोना भाइरस समुदायमा फैलिएर विकराल रुप लिनु भन्दा पहिले नै प्रशासनले ध्यान नदिने हो भने रौतहटमा महामारी नियन्त्रण गर्न निकै कठिन पर्ने देखिएको छ ।

ठूलो सँख्यामा भेटिएका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्ग र सम्पर्कमा आएकाहरुको पहिचान गरि तुरुन्त स्वाब परिक्षण गर्नु पर्ने स्थानियको माग रहेको छ । जनताको बिचमा रहने जनप्रतिनिधि तथा कर्मचारीहरु संक्रमित भए पछि सो स्थानमा उनीहरुको सम्पर्कमा आएको सयौं व्यक्तिहरुको परिक्षण तत्काल गर्नुपर्ने देखिएको छ । संक्रमितहरुलाई उपचारको लागी नगरक्षेत्र भित्रकै एक बिद्यालयमा निर्मित आइसोलेसनमा पठाइएको छ ।
यस अघि क्वारेन्टीन भन्दा बाहिर रहेका गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा संक्रमण पुष्टी भइसकेको छ ।

बौधिमाई नगरपालिका सिल

जनप्रतिनिधि कर्मचारी लगायतका व्यक्तिहरुमा संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालय रौतहटले बौधिमाई नगरपालिकालाई सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज देखी सो नगरपालिकालाई सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
समुदायमा रहेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिनु ठुलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधिमाई र इशनाथ नगरपालिकालाई सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरिले बताए ।