कोरोना माहामारीका कारण दुग्ध व्यवसायमा २० अर्ब नोक्सानी
२१ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९) को महामारी कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले दुग्ध व्यवसायीले २० अर्ब रुपैयाँ नोक्सानी ब्याहोरेको दावी गरेका छन ।
(कोभिड १९)का कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको उनीहरुको भनाइ छ । कोरोनाका कारण डेरी उद्योगको ६० प्रतिशत बजार घटेको नेपाल डेरी एसोसियसनले जनाएको छ । ‘कोरोनाका कारण अर्बौंको नोक्सान भएपनि डेरी उद्योगबाट जसोतसो सेवा दिइरहेको छौं,’ एसोसियसनका महासचिव प्रल्हाद दाहालले भने ।
‘कोभिड १९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरुबारे कृषि पत्रकारहरुको साझा फोरम (अनाज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा उनले किसानले पनि धेरै नोक्सान ब्यहोरेको, तर बाहिर नदेखिएको बताए । सामान्य अवस्थामा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनेमा ३१ लाख दूध मात्र बजारमा जाने गरेको दाहालले बताए ।
अत्यावश्यक क्षेत्रको रुपमा डेरी क्षेत्रलाई राखिएपनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो उद्योगी व्यवसायीको छ । कोरोना महामारीका कारण किसानले उत्पादन गरेको दूध संकलनमा ३० प्रतिशत ह्रास आएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए ।
‘देशभरि सहकारीमा दैनिक ६ लाख लिटर दूध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ’ देवकोटाले भने । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाउँदा किसान साह्रै पीडामा परेको भन्दै देवकोटाले सरकारको ध्यानाकर्षण गराए । सरकारले किसानलाई सुविधा दिन गरेको बाचा पनि अधुरै भएको उनको भनाइ थियो ।
छलफलमा बोल्दै बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र नभई किसानलाई पनि निकै समस्या भएको बताए ।