बुटवलमा पनि फुड बैंक सञ्चालन भयो

   १६ भाद्र २०७७, मंगलवार १२:०५  

१६ भदौ, रौतहट । विश्वभर फैलीएको कोरोना माहामारीका कारण लकडाउन भएकाले काम गर्न नपाउँदा छाक टार्न समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानले बुटवल ११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताए ।

एक परिवारलाई ३ केजी चामल, १ केजी दाल, १ पोका तेल, एक पोका नुन, एक पोका सोयाबिन, चाउचाउ, चिउरा, सम्भव भएसम्म हरियो तरकारी तथा मास्क र सेनिटाइजर समेत वितरण गरिने डुम्रेले बताए । वडा कार्यालय, टोल विकास संस्था र स्थानीय क्लबहरुसँगको समन्वयमा खाद्यान्न लिनेहरुको अभिलेखीकरण गरी दुरुपयोग हुन नदिइने उनले बताए ।