कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु
द नेपाल मिडिया
११ भाद्र २०७७, बिहीबार १०:५४
११ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९)का संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । ललितपुरमा १, पोखरामा १, र वीरगञ्जमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ती पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।
यस्तै, पोखरा महानगरपालिका १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो ।
त्यस्तै, वीरगञ्जमा कोरोनाका काराण पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो ।
त्यस्तै, हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।






