थप ८८५ जनाको कोरोना रिपोर्ट पोजेटिभ, कोरोनाबाट थप ११ जनाको मृत्यु

   १० भाद्र २०७७, बुधबार १७:२८  

१० भदौ, रौतहट । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ, भने आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।