रौतहटमा एक घर, एक पिसिआर परिक्षण अभियान ।

   १० भाद्र २०७७, बुधबार ११:४८  

१० भदौं, रौतहट । रौतहटको दुर्गा भगवति गाँउपालिकामा एक घर एक पिसिआर परिक्षण अभियान संचानल हुने भएको छ ।
रौतहटमा समुदाय स्तरमा कोविड १९ (कोरोना) को संक्रमण फैलिरहेको बेला दुर्गा भगवति गाँउपालिकाले स्थानियहरुलाई निशुल्क पिसिआर परिक्षणको व्यवस्था गरेको हो ।

“समुदाय तथा सर्वसाधारणमा संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरण गर्न एक घर एक पिसिआर परिक्षण गराउने सम्बन्धी नेपाल सरकारको कार्यक्रम अनुसार काम गरेका हौं ।” दुर्गा भगवति गाँउपालिकाका अध्यक्ष अरुण साहले भने “भदौं १२ गते शुक्रवार हेल्थ डेस्क संचालन गरेर गाँउपालिकाका स्थानियको निःशुल्क परिक्षण गराउदै छौं ।” पिसिआर परिक्षणको लागी स्वास्थ्य चौकीका कर्मचारीहरुको व्यवस्थापन लगायतको काम गरेको उनले बताए ।

पछिल्लो समय रौतहटमा संक्रमितको सँख्या तिव्र गतिमा बढी रहेको छ । जिल्लाका सबै स्थानिय तहको समुदाय स्तरमा संक्रमण फैलिएको छ । हाल सम्म रौतहटमा १९ हजार ९० जनाको स्वाब संकलन गरिएको छ जसमध्ये १६ हजार ६ सय २३ जनाको रिपोर्ट निगेटिभ आएको छ भने १ हजार ५ सय ४३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । रौतहटमा ९ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । हाल रौतहटको आइसोसनमा १ सय ४० जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।