कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु

   १० भाद्र २०७७, बुधबार १०:३६  

१० भदौं, रौतहट । कोरोना संक्रमणका कारण थप चार संक्रमितको ज्यान गएको छ । कैलाली, बिराटनगर, पाटन र बाँकेमा संक्रमितको मृत्यु भएको हो ।

कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसै गरी कोरोना संक्रमणबाट बिराटनगरमा गए राति थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले बताए ।

ललितपुरको पाटन अस्पतालमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । देशभरीमा कोरोनाका काराण मृत्यु हुनेको सँख्या १ सय ६४ पुगेको छ ।

यसै गरी चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् ।
भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडामा संक्रमितहरु फेला परेका छन् ।