जनकपुरमा आईसोलेसन कक्ष खाली छैन, बाटैमा जान्छ कोरोना संक्रमितको प्राण

   ९ भाद्र २०७७, मंगलवार १४:२९  

भदौ ९, रौतहट । जनकपुरमा आईसोलेसन बेड नभएका कारणले चिकित्सकले अयन्त्र लैजान रिफर गरेपछि कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा र्पुयाए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे ।

परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्कोट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण बोकेर प्रादेशिक अस्पताल पुगेको तर त्यहाँ उपचार नपाएर अन्यत्र लैजाने क्रममा ज्यान गुमाउनु परेको घटना न यो पहिलो हो, न अन्तिम ।

साउन ११ मा शहीद नगर नगरपालिका ८ डुमरियाका ३६ बर्षीय पुरुष ज्वरो आउनुका साथै खोकी र श्वास प्रश्वासको समस्या लिएर प्रादेशिक अस्पतालमा भर्ना भए । उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखियो । तर प्रादेशिक अस्पतालको आईसीयू कक्षमा रहेका ४ भेन्टिलेटर खाली थिएन ।

उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइयो तर बाटैमा उनको मृत्यु भयो । ११ साउनको दिउँसो मृत्यु भएका उनलाई कोरोना संक्रमण रहेको रिपोर्ट त्यही दिन साँझतिर आयो । जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषलाई प्रादेशिक अस्पतालले ३० साउनमा काठमाडौं रिफर गरियो । तर उनको बाटोमै प्राण गयो । उनको स्वाब भने २९ साउनमै लिइएको थियो र रिपोर्ट पोजेटिभ आएको छ ।