रौतहटमा कोरोनाका ३६ संक्रमित थपिए
९ भदौं, रौतहट । रौतहटमा कोविड १९ (कोरोना) का ३६ संक्रमित थपिएका छन । रौतहटको ६ स्थानिय तहमा संक्रमित थपिएका हुन ।
थपिएका मध्ये सबै भन्दा बढी रौतहटको गरुडा १६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए । सोमबार साँझ आएको रिपोर्टमा गरुडाका १६ जना संक्रमित मध्ये १ जना स्वास्थ्यकर्मी समेत रहेका छन । त्यसै गरी आज बिहान आएको रिपोर्टमा रौतहटमा १९ जना थपिएका छन । गढीमाई नगरपालिकामा ६, मौलापुर र गौरमा ५–५ जना, चन्द्रपुरमा २ , माधव नारायण र गुजरा नगरपालिकाका १–१ जनामा आज संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । आज संक्रमण पुष्टी भएका सबै संक्रमित स्थानिय समुदायका व्यक्तिहरु रहेको जनस्वास्थ्य कार्यालयका प्रवक्ता गुप्ताले बताए ।
“संक्रमितहरुलाई आइसोलेसनमा लग्ने तयारी रहेको छ ।” प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने “शारीरिक रुपमा अशक्त र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धा बाहेक संक्रमण पुष्टी हुने सबैलाई आइसोलेसनमा राखिने छ ।” होम आइसोलेसनमा रहदा विभिन्न समस्याहरु उत्पन्न भएको कारण अब होम आइसोलेसनको प्रावधानलाई सख्त बनाइएको उनले बताए । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा २६० बेड सहितको आइसोलेसन सेन्टर संचालनमा आइसकेकोले होम आइसोलेसनको आवश्यक्ता नरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
आज थपिएकाहरु सँगै रौतहटमा संक्रमितको सँख्या १ सय ७४ पुगेको छ । रौतहटमा स्वाब संकलन गरिएका मध्ये ९ सय ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।