पुजारीको हत्यारा पक्राउ गर्न प्रभु साहको माँग

   ८ भाद्र २०७७, सोमबार १७:४६  

८ भदौं, रौतहट । भदौ ३ गते राति रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा गोलि हानेर हत्या गरिएका मन्दीरको पुजारीको हत्यारा खोज्न प्रहरीले अनुसन्धान तिव्र बनाएको छ ।

बुधवार राति खाना खाइरहेका बेला हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले गोलि प्रहार गरेको थियो । थालमा रोटि तरकारी र ग्लासमा पानी लिएर खान बसेका पुजारीको कन्चटमा गोलि लागे पछि उनको घटना स्थलमै मृत्यु भएको थियो । पुजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोली समेत खटिएको छ । हत्याकाण्डको चार दिन बिति सक्दा पनि प्रहरीले अनुसन्धान निष्कर्षमा पु¥याउन सकेको छैन ।

आफ्नै खर्चले हनुमान मन्दीर स्थापना गरेर पुजापाठ गर्दै आएका साहको हत्या पछि विश्व हिन्दु परिषद लगायतका विभिन्न सँघ सँस्था तथा व्यक्तिहरुले घटनाको छानबिन गरि दोषिलाई कडा कारवाही गर्नु पर्ने माँग गरि रहेका छन ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्री राम साहको हत्याकाण्डको सम्बन्धमा गृह प्रशासनको ध्यानाकर्षण गराएका सांसद साहले पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, साहको सालिक सहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने माँग राखेका छन ।
“प्रदेश प्रहरी समेतले घटनाको अनुसन्धान गरि रहेका बेला यस्ता जघन्य अपराधका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनु पर्छ ।” सांसद साहले भने “घटनाको चौतर्फी आलोचना भएको छ । पुजारी साधु मार्नेलाई पक्राउ गर्न प्रशासनले ठोस पहल गर्नु पर्छ ।”

यता प्रदेश २ प्रहरी कार्यालयका तर्फ बाट घटनाको छानबिनका लागी आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए । “हत्या गरिएका पुजारी शान्त स्वभावका मान्छे थिए ।” एसएसपी पोखरेलले भने “अनुसन्धान जारी रहेको छ । केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ ।” अन्य हत्याकाण्ड भन्दा केही फरक रहेकोले प्रहरीको अनुसन्धाले समय लिएको उनको दाबी छ । घटनाका दोषीहरु उम्कन नपाउने र प्रहरीको विभिन्न टिमले हत्याकाण्डको दोषी पता लगाउन दिनरात काम गरिरहेको पोखरेलले बताए ।