विराटनगरले किन्यो पीसीआर मेसिन

   ८ भाद्र २०७७, सोमबार १४:२८  

भदौ ८, रौतहट । विराटनगर महानगरपालिकाले कोरोना भाईरस (कोभिड १९)का लागि पीसीआर जाँच गरिने मेसिन खरिद गरेको छ ।

सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।
यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जनाएका हुन् ।

मेयर भीम पराजुलीले दिएका जानेकारी अनुसार महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण सञ्चालनको जिम्मा कोशीलाई दिएको हो। ‘मेसिन सञ्चालनका लागि २५ लाख रुपैयाँ हस्तान्त्रण गरिसकेका छौं’ उनले भने, ‘अब पीसीआर रिपोर्ट आउन समय लाग्दैन ।’

मेयरले एक वर्षको सुविधा

महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको छ । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए । उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन ।

यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख, उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, प्रदीप मुरारकाले पाँच लाख, नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले एक लाख रुपैयाँ उपलब्ध गराएका छन ।

उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले एक लाख, नेपाली कांग्रेस विराटनगर कार्यबाहक सभापति अरुण न्यौपानेले एक लाख रुपैयाँ पीसीआर मेसिन खरिदका लागि दिएका छन ।

उद्योग संगठन, व्यापार संघले सहयोग गर्ने प्रतिद्धता जनाएका छन । ‘निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनका लागि ६० लाख सहयोगको प्रतिवद्धता आएको छ’ मेयर पराुजलीले भने ‘मेसिन आइसक्यो, रिएजेन्ट पनि आउँदैछ ।’