बारा र पर्सामा गरी १५६ जनाको कोरोना रिपोर्ट पोजेटिभ

   ७ भाद्र २०७७, आईतवार १२:०१  

भदौ ७, रौतहट । पछिल्लो २४ घण्टामा बारा र पर्सामा गरी थप १ सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा ३ सय २० जनाको स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पर्साका १४५ र बाराका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्षसम्म उमेर समूहका छन ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत कोरोना संक्रमण देखिएको छ ।

यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ जना भारतीय नागरिक, १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगीसमेत संक्रमित भए । जसमध्ये ७४ जना महिलासहित ३ सय ५६ जना कोरोना मुक्त भई घर फर्केका छन ।